दसैँतिहारका लागि अग्रिम टिकट बुकिङ असोज २३ देखि खुला हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गर्दै असोज २३ गतेदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

बैठकले फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाडी तथा लामो र मध्यम दूरीका सवारीसाधनका लागि नेपालभर रुट–परमिट खुला गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए।

चाडपर्वको अवधिमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोका जस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीलाई मात्र प्राथमिकता दिइने निर्णय भएको उनले बताए।

यात्रु ठगिने वा कालोबजारी हुन नदिन तथा भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेसनमा सहायता कक्ष राखिने पोखरेलले बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दसैँलगायत चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने र पूर्वनिर्धारित भाडामै आवतजावतको व्यवस्था गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

वर्षा तथा प्राकृतिक प्रकोपका कारण धेरै ठाउँमा सडक बिग्रिएकाले जोखिम मोलेर कुनै पनि सवारीसाधन नचलाउन चालकहरूलाई आग्रह गरिएको उनले बताए।

सिटौलाका अनुसार बीपी राजमार्गमा चाप कम गर्न तथा यातायात सहज बनाउन दुईपांग्रे लगायतका सवारीसाधनलाई कान्तिपथ वा अन्य वैकल्पिक मार्गबाट पठाउने विषयमा पनि छलफल भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्