बाढीपछि रोकिएको त्रिशूली निरिक्षणपछि र्‍याफ्टिङ पुनः सुचारु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२० असोज, काठमाडौं । भदौ १० गते भोटेकोसी नदिमा आएको बाढीले त्रिशुली नदीमा रोकिएको साहसिक जलयात्रा (र्‍याफ्टिङ ) पुनः नियमित रूपमा सुचारु भएको छ।

बाढीले नदीको बहाव र जलस्तरमा ल्याएको उतारचढावका कारण जोखिम बढाएपछि सुरक्षालाई मध्यनजर गर्दै केही समयका लागि र्‍याफ्टिङ सेवा रोकिएको थियो।

नदीको बहाव सामान्य अवस्थामा फर्किएपछि जलपर्यटन व्यवसायीहरूले र्‍याफ्टिङ पुनः सञ्चालनमा ल्याएकाे हाे ।

र्‍याफ्टिङ पुनः सुचारु गर्नुअघि जलयात्रा विज्ञ, अनुभवी गाइड तथा प्राविधिकहरूको टोलीले त्रिशुली नदीका मुख्य र्‍याफ्टिङ रुटहरूको सूक्ष्म अनुगमन र अध्ययन गरेको थियो।

त्रिशूली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि नदीको वर्तमान अवस्था, बहाव, धार तथा र्‍याफ्टिङ रुटमा आएको परिवर्तनबारे नेपाल एशाेसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले स्थलगत निरीक्षण गरेर पुनः सञ्चालनमा ल्याएकाे हाे ।

बाढीपछि नदीको केही ठाउँमा नयाँ ‘र्‍यापिड्स’ (पानीको तीव्र बहाव र छाल) बनेको र केही पुराना धारहरू परिवर्तन भएको भए पनि अहिलेको बहाव र्‍याफ्टिङका लागि अनुकूल र सुरक्षित रहेको विज्ञहरूले बताएका छन्।

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज् (नारा) का अध्यक्ष कमल ठकुरीले त्रिशुलीमा पटक पटक अध्ययन पछि त्रिशुलीमा नदिमा र्याफ्टिङ सुरु गरेको बताए। उनले बाढीपछि त्रिशुलीमा र्याफ्टिङ गर्न सुरक्षित रहेको बताए।

“त्रिशुली नदीको गल्छीदेखि मुग्लिङसम्म खोलाको धारमा खासै परिवर्तन छैन्। त्यसले गर्दा सत ढुक्क र्याफ्टिङ गर्न सकिन्छ,” उनले भने, “खोला एकदम सफा र क्लिन छ। हामीले अपनाउन पर्ने सबै सेफ्टि प्रोटोकल अपनाएका छौं। बच्चादेखि बुद्घसम्म सबैले आएर मज्जाले र्याफ्टिङ गर्न सक्नुहुन्छ। नदि एकदमै सुरक्षित छ।”

नाराका पूर्वअध्यक्ष सूर्य प्रसाद जाेशी अहिलेको पानीको स्तर (वाटर लेभल) र बहावको गति साहसिक खेलप्रेमीहरूका लागि झन् उत्कृष्ट र रोमाञ्चक बनेको बताउँछन्।

“अबदेखि त्रिशुली नदिमा व्यवसायीक रुपमा जनुसुकै कम्पनीले पनि र्‍याफ्टिङ गर्न सक्छन्। हामीले रेकी ट्रिप गरेका थियौं। त्यसमा पूर्ण रुपमा सुरक्षित देखिएपछि व्यवसायीक रुपमा र्याफ्टिङ सुरु निर्णय गरेका हौं,” उनले भने।

नाराका काेषाध्यक्ष हितमान गुरूङले त्रिशूली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्दै आएका कम्पनीलाई सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका छन्।

उनले भने, “बाढीपछि रोकिएको र्‍याफ्टिङ व्यवसायलाई पुनः नियमित बनाउन सके यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित व्यवसायीलाई राहत पुग्ने विश्वास छ।”

काठमाडाैँबाट चितवन पोखरा, लुम्बिनी जाने विदेशी तथा नेपाली पर्यटकहरुले त्रिशुलीमा र्‍याफ्टिङ गरेर जान सक्ने नाराका काेषाध्यक्ष हितमान गुरूङले बताए ।

रिभर साइड स्पा एन्ड रिट्रिड र त्रिशुली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कडेँलले त्रिशुलीमा र्‍याफ्टिङ सञ्चालनमा आएसँगै त्रिशुली नदिमा आधारित पर्यटन व्यवसाय पुन लयमा आउने बताए।

“भदौ १० गतेको आएको बाढीले लगभग अहिलेसम्म पर्यटक आउन एकदमै कम थियो। यहाँको संचालनमा रहेको अधिकांस पर्यटन त्रिशुली नदिमा नै आधारित थियो। बाढीपछि यहाँको पर्यटन सुस्ताएको थियो। अब र्याफ्टिङ सुरु भएको छ। त्यसपछि पर्यटन पनि चलाएमा हुन्छ भन्ने विश्वास लिएका छौं,” कडेँलले भने।

नाराले त्रिशूलीमा र्‍याफ्टिङ सञ्चालन गर्दै आएका कम्पनीहरूलाई आवश्यक सावधानी अपनाउँदै सेवा पुनः सुरु गर्न आग्रह गरेको छ। लामो समयसम्म सेवा रोकिँदा व्यवसायी तथा त्यसमा निर्भर श्रमिकमा परेको असर कम गर्न र पर्यटन गतिविधिलाई पुनः चलायमान बनाउन र्‍याफ्टिङ सञ्चालन महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्