कोहलपुरमा स्वास्थ्यकर्मीमाथि भएको हातपातप्रति चार स्वास्थ्य संगठनको आपत्ति

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार तथा हातपातको घटनाप्रति स्वास्थ्य क्षेत्रका चार प्रमुख पेसागत संघ–संगठनले आपत्ति जनाएका छन्।

नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल जनस्वास्थ्य संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

पोलिक्लिनिकमा असोज १७ गते अपराह्न भएको घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएको उल्लेख गर्दै उनीहरूले एकपक्षीय आरोपका आधारमा कार्यक्षेत्रमै प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि गालीगलौज तथा हातपात गरिनु कानुनी राज्यको उपहास भएको बताएका छन्।

संयुक्त विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषी ठहर भएमा कानुनबमोजिम कारबाही हुनुपर्नेमा आफूहरूको विमति नरहेको जनाइएको छ। तर, एकपक्षीय आरोपकै आधारमा कार्यक्षेत्रमा प्रवेश गरी गालीबेइज्जती गर्ने, हातपात गर्ने र आफैं दोषी करार गर्ने प्रवृत्तिले स्वास्थ्यकर्मीको मनोबलमा असर पर्न सक्ने उनीहरूको भनाइ छ।

संघ–संगठनहरूले घटनाको यथार्थ छानबिन गरी दोषी प्रमाणित भएमा मात्र कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।

संयुक्त विज्ञप्तिमा नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्मा, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष अधिवक्ता वसन्तकुमार श्रेष्ठ र नेपाल जनस्वास्थ्य संघका कार्यवाहक अध्यक्ष तेजप्रसाद दुलालले हस्ताक्षर गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्