काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ।
असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको समितिले जनाएको छ।
असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ।
असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ।
असोज ३१ गते शनिबार फूलपाती परेको छ। सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०:३९ बजे रहेको छ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ।
कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ। देवी विसर्जनको शुभसाइत बिहान ८:४९ बजे र टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे रहेको छ। टीका लगाउँदा पश्चिम मोहडा फर्किनुपर्ने र टीका लगाइमाग्ने व्यक्ति पनि पश्चिम फर्किनुपर्ने जनाइएको छ।
सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०:५१ बजे रहेको छ। स्थिरासनको शुभसाइत दिवा ११:५२ बजे तथा खड्गयात्रा पनि सोही दिन हुनेछ।
कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ।





