काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी जीवनमा योगदान गरेका नेताहरू १५औँ महाधिवेशनको मञ्चमा नहुँदा आफूलाई नमिठो लागेको बताएका छन्।
पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी निर्माणमा गरेको योगदान र संघर्षको स्मरण गरे।
उनले देउवासहित पार्टीका अन्य नेताहरूले नेपाली कांग्रेसमा लामो समय योगदान गरेको उल्लेख गर्दै उनीहरू महाधिवेशनको मञ्चमा हुनुपर्ने आफूहरूको चाहना रहेको बताए।
‘विनम्रतापूर्वक आग्रह गर्छु, निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेस पार्टीमा लामो समय योगदान गर्नुभएको छ, संघर्ष गर्नुभएको छ,’ थापाले भने, ‘पार्टी निर्माणमा यति ठूलो योगदान गर्नुभएको छ, पार्टीका अरू नेताहरूको योगदान छ। त्यसकारण हामीलाई मिठो लागिरहेको छैन। आज यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई लाग्छ।’





