धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएको छ ।
आइतबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सत्तारुढ दलभित्रै असन्तुष्टि बढेपछि मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार अब बैठक मंगलबार बिहान ९ बजे बस्नेछ । बजेटमा बिचौलियामार्फत कमिसनको खेल भएको आरोप सत्तारुढ दलकै सांसदहरूले लगाएपछि विवाद थप चर्किएको हो ।
एमाले र नेकपाका सांसदहरूले बजेट पारित गर्न सहयोग नगर्ने चेतावनी दिएपछि सरकारलाई समस्या परेको छ । सरकारमै रहेका केही मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट देखिएका छन् ।
बजेट निर्माणमा मुख्यमन्त्री खगराज भट्ट, अर्थमन्त्री चक्रबहादुर मल्ल र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोपसमेत लागेको छ । विवाद चर्किएपछि मुख्यमन्त्री भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् ।




