ओलीको दाबी : ‘हामीविरुद्धको घेराबन्दी अझै सकिएको छैन’

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताएका छन् । उनले ठूला र बलियाहरूले बलजफ्ती गरे त्यसको प्रतिवाद गर्नुपर्ने पनि बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै ओलीले आगामी चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने बताए ।

उनले लोकतन्त्र र स्वाधीनता कमजोर बनाइएको दाबी गर्दै त्यसको पुनःप्राप्ति आवश्यक रहेको बताए । बलजफ्ती र दमन गरिए त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिने उनको भनाइ थियो ।

‘लोकतन्त्र मासिएको छ । स्वाधीनता, स्वतन्त्रता कमजोर बनाइएको छ । यी चिजको पुनःप्राप्ति गर्नु अनिवार्य सर्त हो । हामी यसको पुनःप्राप्तिका लागि बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रिन्छौँ,’ ओलीले भने ।

निहत्था जनतालाई हतियार र सङ्गठित बल प्रयोग गरेर दबाइए जनताले त्यसको प्रतिवाद गर्नुपर्ने उनले बताए ।

ओलीले शान्तिका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने उल्लेख गर्दै आगजनी र लुटपाट आन्दोलन नभएको बताए । उनका अनुसार ठूला र बलियाहरूले कमजोरमाथि बलजफ्ती गरे त्यसको प्रतिवाद गर्नु नै आन्दोलन हो ।

आगामी निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध घेराबन्दी हुने ओलीले दाबी गरे ।

‘यस निर्वाचनमा हामीविरुद्धको घेराबन्दी सकिएको छैन । घेराबन्दी चालु छ । ०७७ सालमा हाम्रा विरुद्ध सानो घेराबन्दी होइन । ०७९ सालमा सानो घेराबन्दी होइन । ०७७ सालमा हाम्रो पार्टी नै कब्जा गरेर घेराबन्दी गरियो,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी