काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार २१.३२ अंकले बढेको छ। अघिल्लो कारोबार दिन ४.१२ अंकले बढेको नेप्से आजको वृद्धिसँगै २ हजार ६२१ अंकमा कायम भएको छ। योसँगै सेयर बजार लगातार पाँचौँ दिन बढेको हो।
आजको बजार वृद्धिमा बैंकिङ समूहको योगदान सबैभन्दा बढी रह्यो। बजारको कुल पुँजीकरणमा २५.४४ प्रतिशत हिस्सा रहेको बैंकिङ समूहको सूचक १.४५ प्रतिशतले बढेको छ। यो समूहको सूचक चैत १० यताकै उच्च विन्दु १ हजार ५६५ अंकमा पुगेको छ।
आज बैंकिङसहित सबै समूहगत सूचक बढेका छन्। विकास बैंक १.१९, फाइनान्स ०.०४, जलविद्युत् ०.२९, होटल तथा पर्यटन ०.०४, लगानी ०.५२, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा १.२०, अन्य ०.६३ तथा व्यापार समूह ०.८० प्रतिशतले बढेका छन्।
बजार बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ। आज १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ४.९५ प्रतिशतले बढेको छ। त्यस्तै, ग्रिन भेन्चर्सको ४.२०, नेपाल वेयरहाउजिङको ३.८६, ओरियन्टल होटल्सको ३.७४, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.५७, टक्सार पिखुवाखोलाको ३.१७ र एनआईसी एसिया बैंकको ३.०८ प्रतिशतले मूल्य बढेको छ।
यसैगरी, सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य ६.३२ प्रतिशतले घटेको छ। एभरेस्ट कलरको ४.९५, स्वाभिमान लघुवित्तको ३.७५, अपर लोहोरेखोलाको ३.६४ र सिटी होटलको ३.३३ प्रतिशतले मूल्य घटेको छ।
आज कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिटी होटल र माउन्टेन इनर्जी अगाडि रहेका छन्।




