काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीमाथि धावा बोल्ने विपक्षी दलका नेता तथा कार्यकर्तालाई ठाउँको ठाउँ ठेगान लगाउन आफू सक्षम रहेको बताएका छन्।
सिन्धुपाल्चोकमा इतर पक्षको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफू पदमा भए पनि नभए पनि जिल्लामा रोजगारी सिर्जना र विकासका योजना ल्याउने काममा सक्रिय रहँदै आएको दाबी गरे।
उनले भने, “म पदमा हुँ वा नहुँ, धेरथोर रोजगारी सिर्जना गर्दै आएको मान्छे मै हुँ। विपक्षी पार्टीका नेता–कार्यकर्ताले नेपाली कांग्रेसमाथि धावा बोल्यो भने ठाउँको ठाउँ ठेगान लगाउने मान्छे पनि मै हुँ। यो जिल्लामा विकासका योजना ल्याउने काममा लाग्ने मान्छे पनि मै हुँ।”
बस्नेतले आफू निकट नेता तथा कार्यकर्तालाई एकढिक्का भएर उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे।
उनले जनताको महत्त्वमाथि जोड दिँदै भने, “जनता भए मात्रै राजनीति हुने हो। जनता भए मात्रै देश हुने हो। जनता भए मात्रै सबै चिज हुने हो।” विगतमा पनि आफूहरू जनताको संरक्षण र हितका लागि लागिपरेको उनको भनाइ थियो।
जनतालाई अप्ठ्यारो पर्दा साथ दिन नसक्ने नेता नालायक हुने टिप्पणी गर्दै बस्नेतले अहिले केही नेताहरू अर्को समूहमा लागे पनि पछि फर्किएर आउने जिकिर गरे।
नेपाली कांग्रेस एक नभएसम्म मुलुकले निकास पाउन नसक्ने बताउँदै उनले उचित समयमा पार्टी एकजुट हुने विश्वास व्यक्त गरे।




