काठमाडौं । भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङसँगको भेटको तस्बिर सार्वजनिक गर्दै भेटेर खुसी लागेको बताएका छन्।
जयशंकरले लेखेका छन्, ‘नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटेर खुसी लाग्यो।’
गृहमन्त्री गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन भारतमा छन्।
बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्डसहित सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरू सहभागी थिए।
बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा तथा साइबर अपराधलगायत अन्तरदेशीय र क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धन गर्नेबारे छलफल भएको थियो।
त्यस्तै, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालले प्राथमिकता दिएको बताइएको छ।
गृहमन्त्रीका रूपमा गुरुङको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रका रूपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना भएको हो। यस संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो।




