२९ असोज, काठमाडौं । घर निर्माणका क्रममा डिजाइन परिवर्तन, प्राविधिक त्रुटि, लागत वृद्धि तथा निर्माणमा हुने ढिलाइ न्यूनीकरण गर्ने उद्देश्यले शिलाक्ष्य गृह निर्माण प्रा.लि. र फोरफ्रन्ट इन्जिनियरिङ प्रा.लि.बीच सहकार्य भएको छ।
सहकार्यसम्बन्धी समझदारीपत्रमा शिलाक्ष्य गृह निर्माणका आशित अधिकारी र सायन पाण्डुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका महेश कार्की र सुधीर थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्।
समझदारीअनुसार भवन निर्माणका विभिन्न चरणमा भवन सूचना मोडलिङ (बीआईएम), भर्चुअल रियालिटी (भीआर), डिजिटल ट्विन तथा थ्रीडी स्क्यानिङजस्ता प्रविधिको प्रयोग गरिनेछ। यी प्रविधिको प्रयोगबाट ग्राहकले निर्माण सुरु हुनुअघि नै आफ्नो घरको डिजिटल स्वरूप हेर्न, डिजाइनमा आवश्यक सुधार गर्न र सम्भावित प्राविधिक समस्या पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ।
बीआईएम प्रविधिले भवनको डिजाइन, संरचना, विद्युतीय प्रणाली तथा प्लम्बिङबीचको समन्वय जाँच गर्न सहयोग गर्छ। यसबाट निर्माणका क्रममा समस्या देखिएपछि पुनः काम गर्नुपर्ने अवस्था, निर्माण सामग्रीको अनावश्यक खपत र अतिरिक्त खर्चको जोखिम कम गर्न सकिन्छ।
त्यस्तै, भर्चुअल रियालिटीमार्फत ग्राहकले निर्माण हुन लागेको घरको बनावट र आन्तरिक संरचनालाई डिजिटल माध्यमबाट अनुभव गर्न सक्नेछन्। थ्रीडी स्क्यानिङले निर्माणस्थलको वास्तविक अवस्थालाई डिजिटल रूपमा अभिलेख गर्न मद्दत गर्नेछ भने डिजिटल ट्विन प्रविधिले भौतिक संरचनासँग सम्बन्धित डिजिटल विवरण व्यवस्थापन तथा अनुगमनमा सहयोग पुर्याउन सक्छ।
फोरफ्रन्ट इन्जिनियरिङका प्रबन्ध निर्देशक महेश कार्कीले नेपालमा अझै पनि अधिकांश निर्माण परियोजना परम्परागत दुई आयामिक नक्सामा आधारित रहेको उल्लेख गर्दै निर्माण क्षेत्रमा डिजिटल प्रविधि अपनाउनुपर्ने आवश्यकता औँल्याए।
“यदि नेपालले वास्तवमै डिजिटल निर्माणको युगमा प्रवेश गर्ने हो भने अब डिजिटल पूर्वाधार, संरचना तथा सूचना प्रणाली (बीआईएम) अपनाउन ढिलाइ गर्नुहुँदैन,” उनले भने, “परियोजनाको योजना र डिजाइनदेखि निर्माण तथा सञ्चालनसम्म डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै निर्माण क्षेत्रलाई अझ व्यवस्थित, प्रभावकारी, पारदर्शी र दिगो बनाउने समय आइसकेको छ।”
शिलाक्ष्य गृह निर्माणका सहसंस्थापक आशित अधिकारीले फोरफ्रन्टसँगको सहकार्यले आधुनिक निर्माण प्रविधिलाई वास्तविक परियोजनामा प्रयोग गर्न सहयोग पुग्ने बताए। उनले निर्माण क्षेत्रलाई परम्परागत शैलीबाट आधुनिक र प्रविधिमैत्री दिशातर्फ लैजानुपर्नेमा जोड दिए।
“हामी सधैँ गुणस्तर, पारदर्शिता र उच्च कार्यक्षमतामा प्राथमिकता दिँदै आएका छौँ। यो सहकार्यले बीआईएम, भर्चुअल रियालिटी र थ्रीडी स्क्यानिङजस्ता अत्याधुनिक प्रविधिलाई हाम्रा वास्तविक निर्माण परियोजनामा जोड्न ठूलो सहयोग पुर्याउनेछ,” उनले भने।
अधिकारीले यस पहलले भवन निर्माणमा मात्र सीमित नभई नेपालको समग्र निर्माण क्षेत्रलाई थप व्यवस्थित, दिगो र प्रविधिमा आधारित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
शिलाक्ष्य गृह निर्माण निर्माणसम्बन्धी समाधान तथा भौतिक संरचना विकासमा केन्द्रित कम्पनी हो भने फोरफ्रन्ट इन्जिनियरिङले बीआईएम, डिजिटल इन्जिनियरिङ र प्रविधिमा आधारित निर्माण समाधानका क्षेत्रमा काम गर्दै आएको छ।
दुवै कम्पनीको निर्माणसम्बन्धी अनुभव र डिजिटल इन्जिनियरिङ विशेषज्ञतालाई एकीकृत गर्दै निर्माणको गुणस्तर, कार्यदक्षता र स्रोतको प्रभावकारी उपयोग बढाउने लक्ष्य राखिएको छ। यद्यपि, यी प्रविधिबाट लागत र समय कति घट्छ भन्ने वास्तविक परिणाम भने तिनको प्रभावकारी प्रयोग र कार्यान्वयनमा निर्भर हुनेछ।




