त्रिविको दीक्षान्त समारोह अब सातै प्रदेशमा, ९५ हजार ५४० विद्यार्थी दीक्षित हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को दीक्षान्त समारोहमा सहभागी हुन देशका विभिन्न दुर्गम क्षेत्रबाट काठमाडौं आउनुपर्ने विद्यार्थीको बाध्यता अन्त्य हुने भएको छ। त्रिविले यस वर्षदेखि पहिलो पटक सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरेको छ।

त्रिविका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार प्रदेशस्तरमा दीक्षान्त समारोह आयोजना गर्ने विषयमा छलफल भइरहेको छ। त्रिविका पदाधिकारी विभिन्न प्रदेशमा पुगेर आवश्यक तयारी र समन्वय गरिरहेका छन्। हालै सुदूरपश्चिमको धनगढीबाट फर्किएको उनले जानकारी दिएका छन्।

त्रिविका अनुसार २०८३ साल पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना हुनेछ। त्यसपछि सातै प्रदेशमा फरक–फरक समयमा दीक्षान्त समारोह सञ्चालन गरिनेछ। प्रदेशस्तरीय समारोहको मिति भने तय हुन बाँकी छ।

प्रदेशमा दीक्षान्त समारोहको तयारी गर्न त्रिविका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई प्रादेशिक संरचनामा परिवर्तन गरिनेछ। सम्बन्धित प्रादेशिक कार्यालयको प्रमुखको संयोजकत्वमा आंगिक, सामुदायिक तथा सम्बन्धनप्राप्त निजी क्याम्पसका प्रमुख र कर्मचारी सम्मिलित समिति गठन गरिनेछ।

उक्त समितिले दीक्षान्त समारोह आयोजना गर्ने स्थान सिफारिस गर्नुका साथै आवश्यक तयारी गर्नेछ। समारोह सार्वजनिक स्थल वा क्याम्पसमा आयोजना गर्न सकिने उपकुलपति थापाले बताएका छन्।

प्रदेशमै दीक्षान्त समारोह आयोजना हुँदा विद्यार्थी तथा उनीहरूका परिवारलाई काठमाडौं आउन लाग्ने यात्रा खर्च, समय र अन्य आर्थिक भार कम हुने अपेक्षा गरिएको छ। यसअघि पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौं आउँदा ठूलो खर्च र समय व्यवस्थापनको समस्या झेल्दै आएका थिए।

त्रिविका अनुसार यस वर्ष प्रदेशस्तरीय दीक्षान्त समारोहका लागि आवेदन आह्वान गरिएको छ। प्रारम्भिक रूपमा आवेदन कम आए पनि अन्तिम समयमा आवेदन बढ्ने अपेक्षा गरिएको उपकुलपति थापाले बताएका छन्। पहिलो पटक भएकाले आवेदन कम भए पनि कार्यक्रम सुरु गर्ने त्रिविको तयारी छ।

९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य

त्रिभुवन विश्वविद्यालयबाट यस वर्ष कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन्। त्रिविको ६७औँ वार्षिक दिवसको बैठकले विद्यार्थीको ग्रेसलिस्ट पारित गरेको हो। २०८२ साल असार १ देखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्तका लागि योग्य भएका हुन्।

योग्य विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन्। त्यस्तै, एमफिलतर्फ २५३, स्नातकोत्तर डिप्लोमा (पीजीडी) तर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन्।

संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन्। शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ विद्यार्थी रहेका छन्।

त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानबाट ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४६३ र वन विज्ञान अध्ययन संस्थानबाट १९२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन्।

सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने त्रिविको तयारीले विद्यार्थीलाई आफ्नो प्रदेशमै दीक्षित हुने अवसर प्रदान गर्नेछ। यसबाट विद्यार्थी तथा परिवारको खर्च र समय बचत हुनुका साथै दीक्षान्त समारोहमा सहभागिता सहज हुने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी