नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला नियुक्त

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३० असोज, काठमाडौं । भारतले नेपालका लागि राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो ।

उनले छिट्टै जिम्मेवारी सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रुपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिव स्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवत: पहिलोपटक हो । भारतको विदेश मन्त्रालयमा विदेश सचिवका अतिरिक्त अन्य चार जना सचिव छन् ।

२०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको रुपमा रहेका दलेला त्यसअघि भुटानका लागि भारतीय राजदूतको रुपमा तीन वर्ष सेवा गरेका थिए ।

हाल उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्छन् ।

दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।

उनको आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डी.सी.स्थित भारतीय कूटनीतिक नियोगहरूमा सेवा गरेका छन् ।

सन् २००९ देखि २०११ सम्म उनले प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए ।

उनको मुख्य जिम्मेवारी भारतका दक्षिण एसियाली छिमेकी राष्ट्रहरू, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको भारतको सम्बन्धमा केन्द्रित थियो। उनले० सन् २००६ देखि २००७ सम्म परराष्ट्र मन्त्रालयमा नर्थ डिभिजनको को रुपमा काम गरेका थिए । सन् २०१६ देखि २०१९ सम्म नर्थ डिभिजनकै सहसचिवको रुपमा काम गरेका थिए । त्यसबेला उनले भुटान र नेपालसँग भारतको सम्बन्धकोबारेमा नजिकबाट काम गरेका थिए ।

डलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन् ।

विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका छन् ।

दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव पनि छ । वासिङ्टन डी.सी.स्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुख भएर बसेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी