३ कात्तिक, काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफू डिसेम्बरमा स्वदेश फर्किने बताएकी छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, उनले मंगलबार भनेकी छन्, ‘बङ्गलादेशको वर्तमान तारिक रहमान सरकारले मलाई गिरफ्तार गर्न सक्छ, मार्न सक्छ वा यातना दिन सक्छ, तर जतिसुकै खतरा भए पनि मलाई त्यसको पर्वाह छैन। म मेरो देश फर्किनैपर्छ।’
उनले आफू तारिक रहमानको सरकारसँग नडराएको र आफ्नो देश फर्किनु आफ्नो जिम्मेवारी भएको बताइन्। हसिना अगस्ट २०२४ मा भएको छात्र आन्दोलनपछि बङ्गलादेश छोडेर भारत आएकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन्।
शेख हसिनाले बङ्गलादेशको वर्तमान सरकारमाथि आफू र आफ्नो पार्टी अवामी लिगका नेताहरूविरुद्ध आपराधिक मुद्दा चलाएर प्रतिपक्षलाई दबाउन खोजेको आरोप लगाएकी छन्।
उनले राजनीतिक नेताहरूमाथि लागेका आरोपको फैसला निष्पक्ष सुनुवाइमार्फत हुनुपर्ने बताइन्। उनका अनुसार, बङ्गलादेशका जनताले स्वतन्त्र र सबैलाई समेट्ने लोकतान्त्रिक प्रक्रियामार्फत आफ्नो सरकार चुन्न पाउने अवसर पाउनुपर्छ।




