४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ्गका लुम्बिनी प्रदेश संयोजक आदित्य आचार्यले मुलुककै सबैभन्दा जेठो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर रेष्टुरेण्ट चलाउन थालेका छन् ।
२४ वर्षीय उनले मासिक दुई लाख रुपैयाँ भाडा तिरेर नेवारी खाजाघर खालको रेष्टुरेण्ट सञ्चालन गरेका हुन् ।
रुपन्देहीका आदित्य भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि चर्चामा आएका थिए । लुम्बिनी प्रदेशमा गृहमन्त्री गुरुङ्गको संयोजक रहेका उनी प्रधानमन्त्री बालेन्द्र साहको कोटाअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सबैभन्दा कान्छो केन्द्रीय सदस्य बनेका छन् ।
प्यारामेडिकलको पढाइ गरेका उनी सो पेशामा छैनन् । राजधानीको ठमेलस्थित एक बारमा आंशिक लगानी गरेका उनले हाल एअरपोर्टबाहिर रेष्टुरेण्ट चलाउन शुरु गरेका हुन् । व्यापारी दीपक मल्होत्राको पार्किङ एरियामा रहेको ब्ल्याक डायमण्ड होटल तथा रेष्टुरेण्ट सुवास श्रेष्ठले चलाइरहेका थिए । तर, केही महिनायता भाडा तिर्न सकेका थिएनन् । मासिक १७–१८ लाख भाडा तिर्नुपर्नेगरी उनले रेष्टुरेण्ट र लज लिएकोमा केही महिनाको भाडा बाँकी छ । उनले एक करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको बुझिएको छ । त्यसकै कारण उनले रेष्टुरेण्ट छोडेको स्रोतले बतायो ।
उनले छोडेपछि आदित्यले आईएमएस एअरपोर्ट सर्भिससँग सम्झौता गरेर रेष्टुरेण्ट चलाउन थालेका हुन् । सर्भिसको प्रतिनिधिका अनुसार उनले रेष्टुरेण्ट सञ्चालन गरेको लगभग दुई महिना हुन लागेको छ । ‘उनीहरुले सिधै सम्झौता गर्न मिल्दैन । हामीसँगै सम्झौता गर्ने हो । हालै सम्झौता भएर रेष्टुरेण्ट अर्कोले चलाउन थालेका छन् । माथि लजचाँहि सुवासले नै चलाइरहेका छन् । भाडा तिर्न सकिरहेका थिएनन्, अर्कोले चलाउन थालेपछि दुई लाख भएपनि कम पर्ने भयो’,स्रोतले भन्यो । आदित्यले आउने स्थानीय तहको निर्वाचनमा बुटवलबाट मेयर उठ्ने तयारी गरिरहेका छन् ।
जेनजी आन्दोलनबाट अहिलेसम्म धेरै खर्च भएको बताउने उनले चुनावअघि नै बिजनेश सेटलमेण्ट गर्न खोजिरहेका छन् । यसो भएपछि ढुक्क भएर स्थानीय तहको निर्वाचनमा लाग्ने उनको योजना छ । स्रोत भन्छ,‘उनी बिजनेस माइण्डका व्यक्ति हुन् । ठमेलको एउटा बारमा आंशिक लगानी छ । अहिले रेष्टुरेण्टमा लगानी गरेका छन् । स्थानीय तहको चुनावअघि उनले सबै समस्या सल्टाउन खोजिरहेका छन् ।’ उनकै जोडबलमा गुञ्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघको सदस्य मनोनीत गरिएको बताइन्छ ।
क्यानलाई वार्षिक डेढ करोड
आईएमएस एअरपोर्ट सर्भिसले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग ३० वर्षको सम्झौता गरेको छ । जसमा ११ वर्ष कटिसकेको छ । भन्सार कटेपछि टनेल एरिया शुरु भएदेखिको संरचना सर्भिसले निर्माण गरेको हो । १४० करोड रुपैयाँ लगानी गरेर बनाइएको संरचनामा वेटिङ्ग हल, लिफ्टलगायतका संरचना पर्छ । सर्भिसले क्यानलाई वर्षेनि एक करोड ५८ लाख रुपैयाँ भाडा बुझाउँदै आएको छ । साथै, रेभेन्यु सेयरिङ पनि गरिँदै आइएको छ । १० वर्षमा पाँच प्रतिशत, २० वर्षमा १५ प्रतिशत र ३० वर्षमा ३० प्रतिशत आम्दानी बाँड्ने सम्झौता छ ।




