दसैँ मनाएर उपत्यका फर्किने यात्रुको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको भीड

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ ।

दसैँको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायत सडकखण्डमा सवारी चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको बताए ।

त्यस्तै, कार्यालयका प्रहरी प्रवक्ता नरेशराज सुवेदीले उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको जानकारी दिए ।

उपत्यकाका प्रमुख नाकाहरूमा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी