दक्षिण अफ्रिकी विस्फोटक ब्याटर डेभिड मिलर एनपीएलमा कर्णाली याक्सबाट खेल्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले मिलरलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरेको हो ।

३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन् । छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन् । मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

मिलरले एकदिवसीय अन्तर्राष्ट्रियमा ४ हजार ७६२ तथा टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन् । एकदिवसीयमा उनको उच्च स्कोर १४२ रन हो भने टी–२० अन्तर्राष्ट्रियमा उनले अविजित १०६ रन बनाएका छन् । उनले एकदिवसीयमा आठ शतक र २४ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन् ।

सबैखाले टी–२० क्रिकेटमा मिलरले ५८४ खेलमा १२ हजार ४३५ रन बनाएका छन् । यस क्रममा उनले चार शतक र ५३ अर्धशतक बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन् ।

मिलरले सन् २००८ मा १८ वर्षको उमेरमा प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिकाको वेस्ट इन्डिज भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध लगातार दुई एकदिवसीय खेलमा शतक बनाएका मिलरले सोही वर्ष विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १८ बलमा ४९ रन बनाएका थिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि मिलरले लामो समय बिताएका छन् । उनी सन् २०१३ देखि २०१९ सम्म किङ्स इलेभेन पञ्जाबमा आबद्ध थिए । सन् २०१६ मा उनले टोलीको कप्तानीसमेत गरेका थिए ।

सन् २०२२ मा गुजरात टाइटन्सबाट खेलेका मिलरले १६ खेलमा ४८१ रन बनाएका थिए । उक्त सिजन गुजरातले पहिलो पटक आईपीएलको उपाधि जितेको थियो । उनले पछिल्लो पटक सन् २०२६ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए ।

मिलरको आगमनसँगै कर्णाली याक्सको मध्यक्रम र अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्ने क्षमता बलियो हुने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी