काठमाडौँ। सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ।
आर्थिक वर्ष २०८३/०८४ को पहिलो चरणअन्तर्गत साविकमा कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष दसैँ परेकाले कात्तिक १७ र १८ गतेका लागि तय गरिएको हो। स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ।
भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रहरूमा पठाइसकिएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको छ।




