९ कात्तिक, काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन् । घटनामा सोही ठाउँका नरेन्द्र राई, उनकी श्रीमती ६२ वर्षीया स्यामाउन राई, छोरी २५ वर्षीया तेनिना राई र ४० वर्षीया अन्जना राई घाइते भएका हुन् ।
दशैं मान्न ससुराली आएका ज्वाई नइन्द्रकुमार राईले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अञ्जना नइन्द्रकुमारकी श्रीमती हुन् भने स्यामाउन सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन् । आक्रमणबाट अन्जना, स्यामाउन र तेनिना गम्भीर घाइते भएका छन् ।
उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, ससुरा नरेन्द्रको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ । प्रहरीले नइन्द्रकुमारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




