काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सफलताको शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्।
उनले एनपीएलको तेस्रो संस्करणका अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
थापाले सीमित स्रोतसाधन र अनेक कठिनाइका बाबजुद नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूको भूमिकाको प्रशंसा गरेका छन्।
नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने सबैलाई सम्झँदै उनले आगामी दिनमा नेपाली क्रिकेटले अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका छन्।




