काठमाडौं । एक दिवसीय स्क्वाडमा समावेश गरेर नेपालबाट बोलाइएका साहिब्जादा फरहान आज श्रीलंकाविरुद्धको म्याचमा प्लेइङ ११ मा अटाएनन् । उनलाई बेन्चमा राखिएको छ ।
फरहान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न चार दिन अगाडि नेपाल आएका थिए । उनी कर्णाली याक्समा आवद्ध छन् । तर पाकिस्तान क्रिकेट बोर्डले अचानक उनलाई घरेलु मैदानमा जारी श्रीलंका र ईंग्ल्याण्डविरुद्धको त्रिकोणात्मक सिरिजका लागि स्क्वाडमा राख्यो । ओपनर साइम अयूवलाई हटाएर फरहानलाई राखिएको हो ।
सोपश्चात फरहानलाई इमेल गरेर तत्काल पाकिस्तान फर्किन भनिएको थियो । बोर्डको आदेश अनुसार फरहान एनपीएल नखेलिकन हिजै पाकिस्तान फर्किए । आजको म्याचमा उनले श्रीलंकाविरुद्ध ओपनिङ गर्ने अपेक्षा थियो । तर उनी प्लेइङ ११ मै परेनन् ।
पाकिस्तानले माज सदाकत र फकार जमानलाई ओपनिङ गराएको छ । उनीहरु दुवै सस्तैमा आउट भएका छन् । पहिलो ब्याटिङ गरेको पाकिस्तान लड्खडाइरहेको छ ।




