अर्थमन्त्री बर्खास्त गर्न गोकुल बाँस्कोटाको सल्लाह

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा व्यक्त विचारप्रति आपत्ति जनाउँदै उनलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाएका छन् ।

वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको अभिव्यक्ति दिएपछि बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत् कडा प्रतिक्रिया जनाएका हुन्। उनले नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितको सन्दर्भमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको विचार स्मरण गराउँदै वाग्लेको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् ।

बाँस्कोटाले फेसबुकमा लेखेका छन्, ‘न राष्ट्र संघ न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग। तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक–जाई कटक र दुई ढुंगाको तरुलको सुत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नव लेण्डुप उफ्रने? किक आउट हिम, पिएम।’ उनले पीएचडीको खोस्टो, राष्ट्र संघ र लेण्डुप दोर्जेको संज्ञा मन्त्री वाग्लेलाई दिएको सहजै बुझ्न सकिन्छ । बाँस्कोटाले वाग्लेको पछिल्लो अभिव्यक्तिलाई नेपालको स्थापित राष्ट्रिय हितको दृष्टिकोणसँग जोडेर आलोचना गरेका हुन् ।

वाग्लेले के भनेका थिए?

अर्थमन्त्री डा. वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा बोल्दै नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने पुरानो भाष्य अब समाप्त भएको सगर्व बताएका थिए ।

वाग्लेको उक्त अभिव्यक्तिलाई लिएर आलोचकहरूले भारतसँगको सम्बन्ध सुधार गर्ने नाममा नेपालको राष्ट्रिय हित र ऐतिहासिक मुद्दालाई कमजोर रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाएका छन् । नेपालका लागि भारतसँग सहकार्य गर्नु आर्थिक र रणनीतिक दृष्टिले जति महत्वपूर्ण छ, त्यति नै सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयमा स्पष्ट अडान कायम राख्नुपर्ने प्रश्न पनि उत्तिकै रहेको उनीहरुको तर्क छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्