चक्रवात ‘अर्नब’को प्रभावले शनिबारसम्म भारी वर्षाको जोखिम, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आगामी शनिबारसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान गर्दै विभागले सम्भावित जोखिमबाट जोगिन सचेत रहन अनुरोध गरेको हो।

भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको चक्रवात कमजोर बन्दै भारतको आन्तरिक भूभाग हुँदै नेपाल नजिक आइपुग्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आगामी कात्तिक १३ गतेसम्म यो प्रणाली भारतको उत्तर प्रदेश र बिहार आसपास आइपुग्नेछ। कमजोर अवस्थामा रहे पनि यसले नेपालमा व्यापक मौसमी प्रभाव पार्ने देखिएको छ।

महाशाखाका अनुसार आज देशभर मौसम बदली रहनेछ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्नेछ। भोलिदेखि शनिबारसम्म भने वर्षाको मात्रा र क्षेत्र विस्तार हुने अनुमान गरिएको छ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ। यी दुई प्रदेशमा पश्चिमी वायुको समेत प्रभाव रहने भएकाले मेघगर्जन, चट्याङ र असिनापानीको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाशाखाले आइतबार बिहानसम्मका लागि चेतावनी नक्सा जारी गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा रातो रङ अर्थात् रेड अलर्ट जारी गरिएको छ। त्यहाँ सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

त्यस्तै, कोशीको पहाडी क्षेत्र, मधेस, बागमती र गण्डकीका पहाड तथा तराई, लुम्बिनीका पहाडी क्षेत्र र पूर्वी तराई तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा सुन्तला रङ अर्थात् अरेन्ज अलर्ट जारी गरिएको छ। ती क्षेत्रमा सतर्क रहन र मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक हुन महाशाखाले अनुरोध गरेको छ। अन्य भूभागमा पहेँलो सङ्केतमार्फत सचेत रहन आग्रह गरिएको छ।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य मौसमी जोखिम बढ्न सक्ने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्