बागमती प्रदेशले  चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ११ साउन । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ ।

बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर हेरफेर गरेको हो । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्रिस्तरीय निर्णयअनुसार भाडादर समायोजन गरेको हो ।

बागमती प्रदेश सरकारले यात्रुवाहक सवारी साधनमा गत जेठ ११ गतेदेखि लागू गरेको भाडादरमा २ दशमलव ३० प्रतिशत भाडा कम गरेको छ । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्ने छ । उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ ।

यस्तै, बागमती प्रदेशमा सञ्चानल हुने मालवाहक सवारी साधनको भाडा १३ रुपैयाँ ७४ पैसा प्रतिटन प्रतिकिलोमिटर तय गरिएको छ । विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारी साधन र यात्रुवाहक सवारी साधन ट्याक्सीको हकमा भने २०७९ को बैशाख १ देखि जारी भाडा दर नै कायम रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्