काठमाडौँ । ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण आगामी कात्तिक १५ गतेसम्म नेपालका विभिन्न नदी जलाधारमा उल्लेखनीय वर्षा भई जलसतह बढ्ने पूर्वानुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले बाढी तथा अन्य जलजन्य जोखिमसम्बन्धी पूर्वसूचना जारी गर्दै सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार, तिनका उपजलाधार तथा आसपासका क्षेत्रमा उल्लेखनीय वर्षा हुने सम्भावना छ। यसका कारण नदीहरूको जलसतह बढ्न सक्ने अनुमान गरिएको छ।
हालको आकलनअनुसार प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुग्ने जोखिम न्यून देखिए पनि वर्षाको वास्तविक मात्रा र नदीको अवस्थाअनुसार जोखिम परिवर्तन हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबारदेखि नारायणी, कोशी, बागमती, कमला र कन्काई नदी जलाधारमा जलसतह सामान्य बढ्न सुरु हुने अनुमान छ। शुक्रबार यी जलाधारमा मध्यमदेखि भारी वर्षा भई जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ। महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीमा भने जलसतह सामान्य बढ्ने देखिएको छ।
लगातारको वर्षाका कारण शनिबार प्रमुख नदीहरूमा जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने अनुमान गरिएको छ। यद्यपि नदीहरूले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले स्पष्ट पारेको छ। कात्तिक १५ गते आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा भई जोखिम घट्दै जाने अनुमान छ।
यसैगरी, कोशी तथा नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ। बिहीबार र शुक्रबार नारायणी, बागमती, कमला, कन्काई तथा कोशी जलाधारका पहाडी र चुरे क्षेत्रमा आकस्मिक बाढी तथा तराईका क्षेत्रमा डुबान हुन सक्ने आकलन गरिएको छ।
कात्तिक १२, १३ र १४ गते पहाडी तथा चुरे क्षेत्रका साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




