मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १२ साउन । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ ।

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानुनी रुप लिएको छ । अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।

विधेयक प्रतिनिधि सभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले हिजो सर्वसम्मतीले पुनः पारित गरेको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो ।

विधेयकमा कम रकम दिइ बढीको लिखत बनाउने, रकम नै नदिइ लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था गरिएको छ । यसअघि सरकारले ल्याएको अध्यादेश खारेज भएपछि संसदमा फास्ट ट्रयाकबाट विधेयक पास गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्