चक्रवात ‘अर्णव’को प्रभावले मनाङमा हिमपात, पर्यटकको आवागमन रोकियो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । चक्रवात ‘अर्णव’को प्रभावका कारण हिमाली जिल्ला मनाङको उच्च क्षेत्रमा हिमपात भएको छ। बिहीबार रातिदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनुका साथै बस्ती क्षेत्रमा सामान्य वर्षा भइरहेको छ।

मौसम प्रतिकूल बनेपछि पर्यटक र स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सुरक्षित स्थानमै बस्न अनुरोध गरिएको छ।

माथिल्लो मनाङको मनाङ, टंकी मनाङ र खाङ्सारलगायत क्षेत्रमा राति सामान्य हिमपात भए पनि शुक्रबार बिहानसम्म हिउँ पग्लिसकेको स्थानीयले बताएका छन्। बिहानैदेखि बस्ती क्षेत्रमा भने सिमसिम पानी परिरहेको छ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार गाउँबस्तीमा हिमपात नभए पनि उच्च क्षेत्रमा हिउँ परेको छ। मौसम प्रतिकूल रहेकाले स्थानीय र पर्यटकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार डाँडाकाँडासहित तिलिचो क्षेत्र र थोराङ्ला पासतर्फका गुन्साङ, याकखर्क तथा लेदर क्षेत्रभन्दा माथिल्लो भागमा हिमपात भएको छ।

मौसमको अवस्था प्रतिकूल बनेपछि माथिल्लो मनाङस्थित एक्याप कार्यालयले बिहीबारदेखि पर्यटकको प्रवेशमा रोक लगाएको छ। बुधबार मात्रै ७० जना पर्यटकको प्रवेश दर्ता भएको थियो।

पर्यटकलाई थोराङ्ला पास हुँदै मुक्तिनाथ र मुस्ताङ जाने तथा तिलिचो तालतर्फ जाने अनुमति दिइएको छैन। मौसममा सुधार नआएसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्