काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।
काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।
जनकपुरका लागि सैफ हसनले अविजित ७१ रन बनाए। उनले ४७ बलमा २ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, विशाल सुश्लिङले ४३ तथा जेम्स निशमले २७ रनको योगदान दिए।
जनकपुरलाई लक्ष्यसम्म पुग्न नदिन विराटनगरका आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो।
विराटनगरका लागि इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ तथा लोकेश बमले ५० रन बनाए।
जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिएका थिए।
अन्ततः रोमाञ्चक बनेको खेलमा अन्तिमसम्म संघर्ष गरेको जनकपुरलाई २ रनले रोक्दै विराटनगरले महत्वपूर्ण जित दर्ता गरेको छ।




