कात्तिक १७, काठमाडौं । राजधानीको गोकर्णेश्वर—५ स्थित नयाँ बस्ती युवा क्लबले १ सय १८ औं देवकोटा जयन्ती एवं क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा विगतमा झै यो वर्ष पनि स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।
आगामी कात्तिक २२ मा लक्ष्मी पूजाको अवसरमा क्लब प्रांगणमा कार्यक्रम गरी प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र निर्मल अर्याललाई सम्मान गर्न लागिएको क्लबका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिनुभयो ।
प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डाक्टर त्रिपाठीलाई रु. ५१ हजार राशी सहितको सम्मान अर्पण गरिने क्लबका सचिव रामचन्द्र दंगालले बताउनुभयो ।
साथै समाजसेवी एवं युवा सर्जक निर्मल अर्याललाई रु. २५ हजार सहित सम्मान गर्न लागिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डाक्टर गंगा उप्रेती र विशिष्ट अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल सहभागी हुनुहुनेछ ।
कार्यक्रम अघि क्लब प्रांगणमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको शालिकमा प्रमुख अतिथि, विशेष अतिथि, सम्मानित स्रष्टाहरू, क्लबका पदाधिकारी, साहित्यिक संघ संस्थाका प्रतिनिधिहरू सहित सर्वसाधारणबाट माल्र्यापण गरिने क्लबका कोषअध्यक्ष राजेन्द्र खनाल ले जानकारी गराएका छ्न।
मुलुककै एक क्रियाशील क्लबको रुपमा पहिचान बनाएको नयाँ बस्ती युवा क्लबले समाजसेवा, साहित्य, खेलकूद, स्वास्थ्य लगायतका विधामा लामो समयअघि देखि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।




