काठमाडौं । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा हस्तक्षेप गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री बालेन र उनको टिमको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खरेलले रवि आफैँले सरकारको नेतृत्व सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै खरेलले पार्टी मात्रै नभई सरकार सञ्चालनमा समेत रवि लामिछानेले जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘रविजी, पार्टी मात्रै होइन, यो गिरोहलाई हटाएर सरकार पनि आफैँ सम्हाल्नुपर्ने अवस्था आइसकेको छ।’
खरेलले बिचौलियाहरू परिचालन गरेर राज्यका शक्तिशाली संरचनालाई कमजोर बनाउने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्। दुई तिहाइको जनादेश र जेनजी आन्दोलनपछि प्राप्त जनसमर्थनको सरकारले उचित सम्मान गर्न नसकेको उनको टिप्पणी छ।
उनले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा सरकारको कार्यशैलीले त्यसको मर्ममाथि नै प्रहार गरिरहेको बताएका छन्। साथै, नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गरेर भइरहेका गतिविधिमाथि पनि उनले प्रश्न उठाएका छन्।
सानेपाबाट सरकारलाई प्रश्न गरेकै आधारमा गगन थापालाई फसाउने नाटक भइरहेको खरेलको आरोप छ। सरकारलाई प्रश्न गर्ने प्रतिपक्षको अधिकार कुण्ठित गर्न खोज्नु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको उनको भनाइ छ।
‘सत्तालाई निरंकुश हुनबाट रोक्ने सबैभन्दा बलियो आधार नै प्रश्न गर्न सक्ने प्रतिपक्ष हो,’ खरेलले लेखेका छन्। लोकतन्त्रमा सरकार शक्तिशाली हुनु अस्वाभाविक नभए पनि सरकारलाई खबरदारी गर्ने प्रतिपक्षको आवाज उत्तिकै बलियो हुनुपर्ने उनले बताएका छन्।
गगन थापाले कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको भन्ने आरोप तथा सर्वोच्च अदालतका न्यायाधीशको नाम जोडेर भइरहेको प्रचारप्रति पनि खरेलले चिन्ता व्यक्त गरेका छन्। राजनीतिक विवादको निरूपण प्रमाण र कानुनी प्रक्रियाबाट हुनुपर्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालको भीड परिचालन र डिजिटल ट्रायलका आधारमा कसैलाई दोषी ठहर गर्न नहुने बताएका छन्।
आफ्नो स्टाटसको अन्त्यमा प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै खरेलले ‘बालेन, दिस इज नट डन’ लेखेका छन्।




