अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रमा भ्रष्टाचार मुद्दा दायर

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सेवा सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको भन्दै २०५५ वैशाख ८ गते विभागमा झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। तर, सम्बन्धित निकायबाट प्रमाणपत्र प्रमाणीकरण गराउँदा उनको नाम र कुल प्राप्ताङ्क त्यहाँको अभिलेखसँग मेल नखाएको आयोगले जनाएको छ।

उक्त नक्कली प्रमाणपत्रकै आधारमा भट्टराईले २०५६ जेठ १० गते सहायक निरीक्षक, २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत हुँदै २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा पाएको अख्तियारको आरोप छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पद तथा सेवा सुविधासमेत प्राप्त गरेको अभियोगमा भट्टराईविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय मागदाबीसहित बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी