काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गर्ने भएको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद गर्न सकिनेछ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आज र भोलि दुई दिनसम्म सुन तथा चाँदीका सिक्का बिक्री गरिनेछ।
तिहारमा सुनचाँदीका धातु खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्दा शुभ हुने धार्मिक विश्वास रहेकाले राष्ट्र बैंकले हरेक वर्ष विशेष रूपमा यस्ता सिक्का बिक्री गर्दै आएको छ।
गत वर्ष सुन अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष भने ३५ किलो सुन खरिद गरी असर्फी बनाएर बिक्री गर्न लागेको हो।
यस वर्ष लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएका चाँदीका सिक्कासँगै सुनका असर्फी पनि बिक्री गरिनेछ। एक व्यक्तिले २ दशमलव ५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का खरिद गर्न पाउनेछन्।
सुन तथा चाँदीका सिक्काको मूल्य सोही दिनको बजार मूल्यका आधारमा निर्धारण हुनेछ। सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।
सिक्का खरिद गर्न इच्छुक व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।




