सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाएको ‘पाँच पाण्डव’ फिल्म अन्तिम समयमा रोकियो, गृह मन्त्रालयको आदेशपछि प्रदर्शन अन्योलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘पाँच पाण्डव’ अन्तिम समयमा रोकिएको छ। केन्द्रीय चलचित्र जाँच समितिबाट सार्वजनिक प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेट पाइसकेको फिल्मलाई सूचना तथा सञ्चार मन्त्रालयले तत्काल प्रदर्शन नगर्न निर्देशन दिएको बताइएको छ।

फिल्मले सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाएपछि निर्माण टिम प्रचारप्रसार र प्रदर्शनको अन्तिम तयारीमा जुटेको थियो। तर, हिजो साँझ मन्त्रालयबाट पत्राचार गर्दै फिल्म प्रदर्शन नगर्न निर्देशन दिइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार मन्त्रालयका कर्मचारीले निर्माण पक्षलाई फोन गर्दै फिल्मको बुकिङ नखोल्न र यसबारे पत्र बुझ्न सिंहदरबार आउन भनेका थिए। यसका लागि गृह सचिवको ठाडो आदेश रहेको बताइएको छ।

फिल्म निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयलाई फिल्म प्रदर्शन रोक्न आग्रह गरेका थिए। सोही आग्रहका आधारमा गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई फिल्म प्रदर्शन नगराउन निर्देशन दिएको स्रोतको दाबी छ।

अन्तिम समयमा फिल्म प्रदर्शन रोकिएपछि निर्माण पक्षलाई ठूलो धक्का लागेको छ भने फिल्मकर्मीहरूले समेत यसप्रति आपत्ति जनाएका छन्। यस विषयमा चलचित्र विकास बोर्डले छलफल गरेर समाधान खोज्ने आश्वासन दिएको स्रोतले जनाएको छ।

सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाइसकेको फिल्मलाई अन्तिम समयमा रोकिएको घटनाले नेपाली चलचित्र क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्