काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रहरीले पक्राउ गर्ने चर्चा व्यापक भइरहेका बेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने यसबारे आफूलाई कुनै आदेश प्राप्त नभएको स्पष्ट पारेको छ।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले आफू र आफ्नो कार्यालयलाई हालसम्म थापालाई पक्राउ गर्ने सम्बन्धमा कुनै निर्देशन नआएको बताएका छन्। नेपाल प्रेससँगको कुराकानीमा उनले अन्य कुनै कार्यालयमा त्यस्तो सूचना वा गतिविधि भए त्यसबारे आफूलाई जानकारी नहुने पनि स्पष्ट पारे।
यता, कांग्रेस सभापति थापाको सचिवालयले भने पछिल्लो दुई दिनदेखि सादा पोसाकमा रहेका अपरिचित व्यक्तिहरूले निगरानी बढाएको दाबी गरेको छ। सचिवालयका एक सदस्यका अनुसार राइड सेयरिङका मोटरसाइकलजस्ता देखिने सवारीसाधनमा केही व्यक्तिहरू थापाको पछिपछि लाग्ने गरेका छन्। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा समेत सादा पोसाकका अपरिचित व्यक्तिहरूको आवतजावत बढेको उनको भनाइ छ।
प्रहरी स्रोतका अनुसार बुधबार पदमुक्त गरिएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदमा रहँदै ‘माथिको आदेश’ भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सभापति थापामाथि निगरानी राख्न निर्देशन दिएका थिए।
तर, बिहीबार बिहान कार्यालय समय सुरु भएपछि कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले सहकर्मीहरूलाई दिएको ब्रिफिङमा त्यस्तो कुनै निर्देशन उल्लेख नगरेको स्रोतको दाबी छ। बुधबार पनि उनले यससम्बन्धी निर्देशन नदिएको बताइएको छ।
थापालाई पक्राउ गर्ने चर्चा चलिरहँदा सीआईबीले कुनै आदेश नआएको बताएको छ भने उनको सचिवालयले निगरानी बढाइएको दाबी गरेको छ। यसले पछिल्लो राजनीतिक घटनाक्रमलाई थप चासोपूर्ण बनाएको छ।




