काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध उनले रिट निवेदन दिन लागेका हुन्।
कार्कीको रिट लिएर उनका कानुन व्यवसायीहरू केहीबेरअघि सर्वोच्च अदालत पुगेका हुन्। आफू अन्यायमा परेको भन्दै उनले सरकारको निर्णयलाई चुनौती दिन खोजेका हुन्।
सरकारले बुधबार मात्रै कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई पदबाट हटाउँदै उक्त पदमा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। साथै, कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उनलाई उक्त जिम्मेवारीमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको थियो।
सर्वोच्च अदालतमा पुगेको रिट निवेदन अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै दर्ता हुने वा नहुने भन्ने टुंगो लाग्नेछ।




