सरकार र डा. गोविन्द केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ – सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गर्नुभएको छ ।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरी गएराति अनशन तोडाउनुभएको हो । डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको बताउनुभयो ।

डा. केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिअनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट संख्या थप गर्ने निर्णय मापदण्डअनुसार भए–नभएको छानबिन गरिनेछ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरिने भएको छ ।

त्यसका लागि दुई हप्ताभित्र मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइने र अध्यादेश जारी भएपछि नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया तत्काल शुरु गरिने सहमतिमा उल्लेख छ ।

सरकारले डा. केसीको २४ औं सत्याग्रहका क्रममा गएको साउन ११ गते भएको सहमतिमा कार्यान्वयन हुन बाँकी बुँदा पनि अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी