काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः अर्थात् आत्मपूजा पनि गर्दैछन्।
नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् इस्वी संवत् ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो। राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले विसं २०६५ मा नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो।
नेपाल संवत्को नयाँ वर्ष काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष उत्साहका साथ मनाउने गरिन्छ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो।
म्हः अर्थात् आत्मपूजाको विशेष महत्त्व
नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले म्हः अर्थात् आत्मपूजा पनि गर्ने परम्परा छ। मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नै आत्माको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ।
आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवतासमेत प्रसन्न भई आशीर्वाद दिने र मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहिआएको छ।
यस वर्ष प्रतिपदा तिथि दुई दिन परेकाले केही स्थानमा नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा भिन्नता देखिएको छ। केही स्थानमा सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले आज म्हः पूजा गर्दैछन्।




