विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा एक सय १० जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । देशभर विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एक सय १० जनालाई पक्राउ गरेको छ।

विभिन्न जिल्लाबाट जुवा र कौडा खेलिरहेका उनीहरूको साथबाट लाखौँ रुपैयाँ नगद, तास तथा कौडा बरामद गरिएको हो।

बुढानिलकण्ठ नगरपालिका-६ टनागाउँमा जुवातास खेलिरहेको अवस्थामा राजेश नगरकोटीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ५६ हजार ५ सय ४० रुपैयाँ र ६ बुक तास बरामद गरेको छ। यसैगरी भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ मा सुजन तामाङसहित ९ जना ९९ हजार १ सय ५० रुपैयाँ र १ बुक ताससहित पक्राउ परेका छन् भने चाँगुनारायण नगरपालिका-७ मा दिपेश लामिछानेको समूहबाट ९७ हजार रुपैयाँ र ४ बुक तास बरामद गरिएको छ।

चितवनका विभिन्न स्थानमा पनि प्रहरीले छापा मारेको छ। रत्ननगर नगरपालिका-१६ मा माधव थापा मगरसहित ६ जना ५२ हजार ६ सय १५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन्। भरतपुर महानगरपालिका-७ मा डिलाराम चालिसेको घरबाट ३ लाख ३७ हजार ४ सय ८० रुपैयाँ र १ बुक ताससहित ७ जना पक्राउ परेका छन् भने महानगरपालिका-१२ मा गोविन्द मगरसहित २ जना ३६ हजार १ सय १० रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन्।

धनकुटाको पाख्रीबास नगरपालिका-९ मा विष्णु घिसिङको घरबाट १ लाख ७ हजार ३ सय १५ रुपैयाँ र ३० थान कौडासहित ७ जना पक्राउ परेका छन्। यस्तै झापाको कमल गाउँपालिका-५ मा गीता भट्टराईको घरबाट १ लाख १८ हजार २ सय रुपैयाँ र ५ बुक ताससहित १२ जना तथा दमक नगरपालिका-१० मा काजिम थापाको समूहबाट ८९ हजार ७ सय १० रुपैयाँ र १५ थान कौडा बरामद गरिएको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-2 शिवचोकबाट संजय पंजियारसहित ५ जना ६७ हजार ५ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका-७ मा विष्णु थारूको घरबाट ७८ हजार ४ सय ८५ रुपैयाँ र ३ बुक ताससहित ४ जना पक्राउ परेका छन्।

सर्लाहीको बरहथवा नगरपालिका-९ मुर्तियाबाट लालकृष्ण गुरुङसहित २ जना ३६ हजार ५५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन्। यसैगरी लालबन्दी नगरपालिका-4 मा भुवनकुमार श्रेष्ठको घरबाट ६२ हजार रुपैयाँ, ६ बुक तास र १६ थान कौडासहित ९ जना पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ मा रविन्द्र केसीको घरबाट १ लाख ४७ हजार २ सय ५६ रुपैयाँ र ३ थान कौडासहित ६ जना पक्राउ परेका छन्। कास्कीको पोखरा महानगरपालिका-१८ मा केशर रानाको कोठाबाट ६३ हजार ५ सय २५ रुपैयाँ र ४ बुक ताससहित ६ जना पक्राउ परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्