काठमाडौं । झापामा मृत भेटिएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडाको शव परिवारले बुझेका छन् ।
आइतबार कनकाई नगरपालिका वडा नम्बर–३ स्थित आफ्नै घरको दोस्रो तलामा उनी झुन्डिएको अवस्थामा भेटिएका थिए । भद्रपुर अस्पतालमा पोस्टमार्टम गरेर उनको शव परिवारलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले रातोपाटीलाई बताए ।
कनकाईमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ४३ वर्षीय खतिवडासँग काठमाडौंमा थुनामा रहेका इनम सापकोटाको ‘कनेक्सन’ रहेको भन्ने विवरणहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । तर, प्रहरीको अनुसन्धानबाट अहिलेसम्म त्यसबारे पुष्टि भएको छैन । झापाकी एसपी बसुन्धरा खड्काले त्यसबारे पुष्टि हुने विवरणहरू फेला नपरेको बताइन् ।
प्रहरीले यशुको मोबाइल सोमबार बिहान उनको घरबाट बरामद गरेको छ । यसअघि मोबाइल फेला परेको थिएन । मोबाइल परीक्षणका लागि प्रहरी हेडक्वार्टरको फरेन्सिक ल्याबमा पठाइने डीएसपी पाठकले जानकारी दिए । यशुले सामाजिक सञ्जाल फेसबुकमा ‘इनम सापकोटाको नामबाट आएको म्यासेज आफ्नो परिवार र निर्दोष बुवालाई फसाउन कसैले रचेको नाटक’ भनेका छन् ।
मृत्यु रोज्नुअघि उनले सामाजिक सञ्जालमा आफ्नो गल्तीको सजाय परिवारलाई नदिन आग्रह गर्दै पोस्ट गरेको भेटिएको छ । प्रहरीले सामाजिक सञ्जालमा उनले पोस्ट गरेको विषयमा पनि अनुसन्धान गरिरहेको छ ।




