काठमाडौँ । नेपाल रेल्वे कम्पनीले जनकपुर–अयोध्या रेल सेवा सञ्चालनका लागि आवश्यक मोडालिटी र प्राविधिक तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
सेवा सञ्चालनको ढाँचा, समयतालिका तथा व्यवस्थापनका विषयमा निरन्तर छलफल र बैठकहरू भइरहेकाले एक–दुई दिनभित्रै सम्पूर्ण विषय टुंगो लाग्ने कम्पनीले जनाएको छ ।
रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा सातामा एकपटक ‘राउन्ड ट्रिप’ सञ्चालन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाइएको छ । यता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह यही मंसिरको पहिलो हप्ता छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने तयारीमा रहेकाले भ्रमणकै अवसर पारेर जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन वा सञ्चालनसम्बन्धी घोषणा हुने चर्चासमेत चलेको छ ।
सरकारले भ्रमणको औपचारिक घोषणा गर्न बाँकी रहे पनि स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ देखि ८ गतेसम्म भारत भ्रमणमा जाने सम्भावना छ । ‘अहिले हामी निरन्तर सल्लाह र बैठकमै छौँ,’ प्रबन्ध सञ्चालक पराजुलीले भने, ‘कन्फर्मेसन भएपछि एक–दुई दिनमा फाइनल हुन्छ र भोलि–पर्सिसम्ममा आधिकारिक रूपमै बाहिर आउँछ ।’
पहिलो चरणमा सातामा एक राउन्ड ट्रिप चलाउने योजना
प्रबन्ध सञ्चालक पराजुलीका अनुसार जनकपुर–अयोध्या रेल सेवा सुरुवाती चरणमा साप्ताहिक रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ । पहिलो चरणमा हप्तामा एउटा ‘राउन्ड ट्रिप’ अर्थात् हप्तामा एकपटक आउने–जाने गरी सेवा सुरु गर्ने तयारी गरिएको उनले बताए । पछि यात्रुहरूको चाप र माग बढ्दै गएमा सेवाको संख्या थप्दै लैजान सकिने उनको भनाइ छ ।
हाल नेपाल रेल्वे कम्पनीका दुईवटा रेल महोत्तरीको भंगाहास्थित बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगरसम्मको ५२ किलोमिटर खण्डमा नियमित सञ्चालनमा छन् । यही सञ्जालमा जनकपुर–अयोध्यालाई पनि जोड्ने गरी प्रक्रिया अगाडि बढाइएको पराजुलीले स्पष्ट पारे । उनका अनुसार अयोध्याबाट आउने रेल बिजलपुरासम्म नपुगी जनकपुरसम्म मात्रै आएर जनकपुरबाटै फर्किनेछ ।
भारततर्फको करिब ६०४ किलोमिटर लामो दूरी तय गर्ने क्रममा बिचमा धेरै वटा स्टेसनहरू पर्ने भएकाले यात्रु अभावको समस्या नहुने विश्वास कम्पनीको छ । ‘जनकपुरबाटै सबै यात्रु भरिनुपर्छ भन्ने छैन,’ उनले भने, ‘६०४ किलोमिटर कुद्ने क्रममा बिचमा थुप्रै स्टेसनहरू आउने भएकाले जनकपुरबाट यात्रु कम भए पनि जयनगर वा अगाडिका अन्य स्टेसनबाट पनि यात्रु लिन्छ ।’
अयोध्या र जनकपुरधामबिचको ऐतिहासिक तथा धार्मिक सम्बन्धका कारण यो रेल सेवा सञ्चालनमा आएपछि नेपालको पर्यटन क्षेत्रमा सकारात्मक उभार आउने अपेक्षा गरिएको छ । जनकपुर आफैँमा महत्त्वपूर्ण धार्मिक स्थल भएकाले यहाँस्थित जानकी मन्दिर, जनक मन्दिर, धनुषाधामलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा भारतीय तीर्थयात्रीको आगमन उल्लेख्य रूपमा बढ्ने पराजुलीको आकलन छ ।
अयोध्या–जनकपुर रेल सेवा सञ्चालनको चर्चासँगै स्थानीय पर्यटन व्यवसायीहरू समेत उत्साहित भएर आ–आफ्नो तर्फबाट तयारीमा जुट्न थालेको उनले बताए । यसले पर्यटन प्रवद्र्धन मात्र नगरी देशको समग्र आर्थिक तथा सामाजिक गतिविधिलाई समेत चलायमान बनाउने उनको विश्वास छ । पराजुलीले अयोध्यामा आउने कुल पर्यटकको सानो हिस्सा मात्र नेपाल भित्रिए पनि देशका लागि ठुलो उपलब्धि हुने उल्लेख गरे । ‘अयोध्यामा आउने पर्यटकमध्ये १० प्रतिशत मात्रै नेपालमा आइपुगे भने त हामीलाई थेग्नलाई पनि गाह्रो हुने अवस्था आउँछ,’ उनले भने, ‘त्यसैले देशका लागि यो एक प्रकारले निकै राम्रो कुरा हो ।’
जनकपुरमा तत्काल कार्गो रेल नचल्ने, विराटनगरमा तयारी
विगतमा यात्रुवाहक रेलमा यात्रुको संख्या क्षमताअनुसार नभएकाले घाटामा गएको र कार्गो (मालवाहक) रेल सञ्चालन गर्ने विषयले पनि चर्चा पाएको थियो । तर, हाल तत्कालका लागि जनकपुर खण्डमा कार्गो रेल सञ्चालनको कुनै तयारी नरहेको प्रबन्ध सञ्चालक पराजुलीले स्पष्ट पारे । उनका अनुसार अहिले कम्पनीको ध्यान पूर्ण रूपमा यात्रुवाहक रेल सेवामै केन्द्रित छ ।
जनकपुर नाकामा कार्गो रेल सञ्चालन गर्न भन्सारसम्बन्धी विभिन्न कानुनी तथा प्रक्रियागत नियमहरू नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘जनकपुरमा कार्गो रेल चलाउने विषय प्रक्रियामा त छ, तर त्यसका लागि भन्सारका नियमहरू नै परिवर्तन गर्नुपर्ने भएकाले मिलाएर गर्दा अझै एक वर्ष जति समय लाग्न सक्छ,’ पराजुलीले भने । जनकपुरमा केही समय लाग्ने भए पनि विराटनगरमा भने कार्गो रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
सधैँ किन घाटामा छ नेपाल रेल्वे ?
जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आएयता नेपाल रेल्वे कम्पनी घाटामा चल्दै आएको छ । प्रबन्ध सञ्चालक पराजुलीले कम्पनी घाटामा जानुका पछाडि मुख्यतः दुईवटा बाध्यता रहेको बताए । उनका अनुसार पहिलो कारण नेपालसँग रेल मर्मतसम्भार गर्ने आफ्नै ग्यारेज तथा वर्कसप नहुनु हो भने दोस्रो कारण स्वदेशी दक्ष प्राविधिक जनशक्तिको अभाव हो ।
हाल आफ्नै वर्कसप नहुँदा रेलको मर्मतसम्भार (मेन्टेनेन्स) भारतको जयनगरमा भारतीय पक्षबाटै गराउनुपरेको छ । भारतीय पक्षबाट मर्मत गराउँदा अत्यधिक महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको पराजुलीले सुनाए । ‘हामीसँग रेल मर्मत गर्ने ग्यारेज र वर्कसप छैन, जयनगरमा भारतीयहरूलाई गराउँदा पैसा धेरै लिन्छन्,’ उनले भने, ‘मर्मतसम्भारमा मात्रै मासिक ५५ देखि ६० लाख भारतीय रुपैयाँ (भारू) भन्दा माथि खर्च लाग्छ ।’
यसबाहेक रेल सञ्चालन र प्राविधिक व्यवस्थापनका लागि नेपालमा दक्ष जनशक्ति नभएकै कारण २३ जना भारतीय चालक तथा प्राविधिक राख्नुपरेको उनले जानकारी दिए । रेल सेवाबाट हुने कमाइभन्दा बढी रकम भारतीय पक्षलाई मर्मत र जनशक्ति शुल्कका रूपमा तिर्नुपर्दा कम्पनी घाटामा गएको उनको भनाइ छ ।
दुई वर्षभित्र स्वदेशी जनशक्ति तयार पार्ने लक्ष्य
विदेशी जनशक्ति र मर्मत खर्चका कारण व्यहोर्नुपरेको घाटा कम गर्दै रेल्वे कम्पनीलाई दिगो बनाउन अब स्वदेशी जनशक्ति उत्पादनमा जोड दिइएको पराजुलीले बताए । भारतीय चालक र प्राविधिकमाथिको निर्भरता अन्त्य गर्न नेपाल रेल्वे कम्पनीले लोकसेवा आयोगमार्फत स्थायी कर्मचारी माग गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।
उनका अनुसार लोकसेवाबाट छनोट भएर आउने नेपाली कर्मचारीलाई ६ महिना बाहिर तालिममा पठाएर दक्ष चालक तथा प्राविधिकका रूपमा तयार पारिनेछ । यदि नयाँ भर्ना प्रक्रियामा समय लाग्ने अवस्था आएमा हाल कार्यरत कर्मचारीलाई नै विशेष तालिम दिएर परिचालन गर्ने योजना समेत अगाडि बढाइएको उनले बताए ।
‘आगामी दुई वर्षमा जनशक्तिको पाटोमा कम्पनीलाई दिगो (सस्टेनेबल) बनाउने हिसाबले नै योजना बनाएका छौँ,’ पराजुलीले भने । यद्यपि, आफ्नै वर्कसप तथा ग्यारेज निर्माणका लागि भने ठुलो बजेट आवश्यक पर्ने भएकाले अझै केही समय लाग्ने र कतैबाट बजेटको सुनिश्चितता भएमा वर्कसप निर्माणको काम पनि अघि बढाइने उनले स्पष्ट पारे ।




