जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत विष्णुको केएमसीमा निःशुल्क उपचार शुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किनुभएको छ ।

सोमवार नेपाल आइपुग्नुभएकी उहाँको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार शुरु गरिएको हो ।

आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिन भएपछि नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उहाँलाई नेपाल ल्याइएको हो । डा। शर्माले नै उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल एयरलाइन्सको विमानबाट सोमबार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी विष्णुको स्वागतका लागि डा. शर्मा केएमसीका विशेषज्ञ चिकित्सकको टोलीसहित एम्बुलेन्स लिएर विमानस्थल पुग्नुभएको थियो । विमानस्थलबाट उहाँलाई सिधै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुयाएर भर्ना गरिएको हो । अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार प्रक्रिया अघि बढाएको जनाएको छ ।


नेपाल आइपुगेपछि विष्णुले डा। शर्मालाई आफू कहाँ रहेको भन्दै प्रश्न गर्नुभयो । जवाफमा डा। शर्माले उहाँ आफ्नै देशको काठमाडौं मेडिकल कलेजमा रहेको जानकारी गराउनुभएको थियो । स्वदेश फर्किएको थाहा पाएपछि उहाँ भावुक बन्नुभयो ।


विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालबाट डिस्चार्ज नहुँदासम्म आफूले व्यहोर्ने डा। शर्माले बताउनु भयो । चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराइने उहाँको प्रतिवद्धता छ । आर्थिक अभावकै कारण कुनैपनि बिरामी उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ ।

रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो । आर्थिक समस्याका कारण जापानमा उपचारलाई निरन्तरता दिन र नेपाल फर्किनसमेत कठिनाइ भइरहेको थियो । डा. शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा संलग्न हुनुहुन्छ ।

उहाँले आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएको जनाइएको छ ।

त्यस्तै विपन्न,दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यमा समेत उहाँ संलग्न रहँदै आउनुभएको छ । ६ महिनादेखि जापानमा उपचाररत विष्णु अहिले स्वदेश फर्किएर परिवारको साथमा थप उपचार गराइरहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी