प्रहरी सरुवा-बढुवाको ‘जाम’ खोल्न आतुर नयाँ आईजीपी, गृहमन्त्रीलाई पर्खिँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रहरीका नवनियुक्त आईजीपी डा. मनोजकुमार केसी संगठनका नियमित सरुवा-बढुवाको अवरोध (जाम) खोल्न आतुर देखिएका छन् । त्यसका लागि हाल दुबई भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङको प्रतीक्षामा रहेको उनले नेपाल प्रेसलाई बताएका छन् ।

आईजीपी डा. केसीले संगठनले गर्नुपर्ने केही नियमित काम विभिन्न कारणले रोकिएको र गृहमन्त्री तथा मन्त्रालयसँग समन्वय गरेर छिट्टै ती काम सम्पन्न गर्ने बताएका हुन् ।

सामान्यतया एक वर्षको कार्य अवधिका लागि सरुवा भएर विभिन्न जिल्ला र इलाका प्रहरी कार्यालयका प्रमुखसहितका अधिकृत १३-१४ महिनादेखि त्यहीँ कार्यरत छन् । यसले कार्यालय प्रमुखसहित विभिन्न जिम्मेवारीको अवसर पर्खिएका अन्य अधिकृत सरुवाबाट विमुख हुँदै आएका छन् ।

तत्कालीन आईजीपी दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त भएपछि एक एआईजी पद रिक्त छ । तीन महिनादेखि २४ डीएसपीका दरबन्दी रिक्त छन् । २०६४ मा इन्स्पेक्टर भएका एक, २०७१ का चार र २०७२ मा इन्स्पेक्टर भर्ना भएका १९ अधिकृत उक्त बढुवाका दाबेदार हुन् ।

प्रहरी नेतृत्व र सरकारबीच केही समयदेखि समन्वय अभाव हुँदा महत्त्वपूर्ण मानिने सरुवा-बढुवाजस्ता काममा बाधा पुगेको थियो । तत्कालीन आईजीपी कार्कीलाई सरकारले सुरक्षा सल्लाहकार नियुक्त गर्दै डा. केसीलाई आईजीपी नियुक्त गरेपछि समन्वय सहज बनेको छ । तर, डा. केसी नियुक्त भएलगत्तै गृहमन्त्री गुरुङ वर्ल्ड पुलिस समिटमा भाग लिन दुबई गएका छन् ।

प्रहरीको एसपी दर्जासम्मको सरुवा-बढुवाको निर्णय गर्ने अधिकार आईजीपीसँग निहित छ । एसएसपीको गृह सचिवस्तर, डीआईजीको मन्त्रालयस्तर र आईजीपी-एआईजीको सरुवा-बढुवा मन्त्रिपरिषद्को निर्णयबाट हुने गर्दछ । ती विषयका निर्णय लिनुअघि विभागीय मन्त्री र मन्त्रालयसँग समन्वय तथा आवश्यक निर्देशन लिने प्रचलन छ ।

प्रहरी प्रधान कार्यालयले गत वर्ष भदौ ३१ गते ४८ एसपी र असोज २ गते ९० डीएसपीको सरुवा गरेको थियो । असोज २८ को सरुवामा कार्यक्षेत्र गएका ६५५ जना इन्स्पेक्टर अझै त्यहीँ छन् । सामान्यतया एक वर्षको कार्यअवधि तोकेर प्रहरीको सरुवा हुने गरेको छ ।

आईजीपी डा. केसीले आफूमा निहित एसपी दर्जासम्मको सरुवा-बढुवाको अधिकार प्रयोग गर्नुअघि सरकारका नीति र निर्देशन पालना गर्नुपर्ने बताए ।

‘मन्त्रीज्यू आएपछि छिट्टै हुन्छ’, उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी