काठमाडौं, २ मंसिर । काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भीमफेदी र बकैया गाउँपालिका जोड्ने सुरुङ छिचोल्न लागिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार राष्ट्रपति पौडेल बुधबार बिहान साढे ९ बजे हेलिकप्टरमार्फत महादेवटार पुगेका थिए ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये आज ब्रेक थ्रु गरिने सुरुङको लम्बाइ करिब ३.४५ किलोमिटर छ । यस्तै यसअघि भदौ महिनामै ब्रेक थ्रु भइसकेको अर्को सुरुङको लम्बाई ३ किलोमिटर ४८६ मिटर लामो छ ।
आजको ब्रेक थ्रुसँगै महादेवटारमा समानान्तर रूपमा निर्माण गरिएका दुवै सुरुङको खन्ने काम पूरा हुनेछ ।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्म जोड्ने द्रुतमार्गको कुल लम्बाइ ७० किलोमिटर ९७७ मिटर छ । यसमा सातवटा सुरुङ निर्माण भइरहेका छन् । सात सुरुङको कुल लम्बाइ ११।२ किलोमिटर रहेको छ ।
महादेवटारसँगै यसअघि मकवानरमै पर्ने धेद्रे र लेनडाँडा सुरुङको पनि ब्रेक थ्रु भइसकेको छ । धेद्रे सुरुङ एक हजार ६९१ मिटर र लेनडाँडा सुरुङ एक हजार ६२३ मिटर लामो छ । यी सुरुङमा अहिले फिनिसिङको काम भइरहेको छ । द्रुतमार्गमा भित्रिने र बाहिरिने सवारीका लागि समानान्तर सुरुङ निर्माण गरिएको हो ।




