रौतहट २ मंसिर। सिरहाको भगवानपुर गाउँपालिकाका विभिन्न स्थानबाट चोरी भएका ट्याक्टरका तीन थान ब्याट्री सप्तरीबाट बरामद भएका छन्। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत कात्तिक ३० गते राति भगवानपुर गाउँपालिका–३ र ५ का विभिन्न टोलबाट ट्याक्टरका ब्याट्री चोरी भएका थिए। घटनाबारे मंसिर १ गते प्रहरी चौकी ठाडीमा निवेदन परेपछि प्रहरीले अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो।
खोजतलासकै क्रममा सोही दिन साँझ सप्तरीको बलान बिहुल गाउँपालिका–२ बाट भारततर्फ जाँदै गरेको बीआर ३२ एवाई ३४२१ नम्बरको मोटरसाइकलमा तीन थान ब्याट्री फेला परेका थिए।
मोटरसाइकलमा शंकास्पद रूपमा ब्याट्री बोकेर लैजाँदै गरेको देखेपछि प्रहरीले रोकेर जाँच गरेको थियो। मोटरसाइकल चालक दिपेश कुमार यादवसँग सोधपुछ तथा अनुसन्धान गर्दा बरामद ब्याट्री भगवानपुरबाट चोरी भएका ब्याट्रीसँग मेल खाएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका क्रममा राजेश कुमार यादवसमेत चोरीमा संलग्न रहेको खुलेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट चोरी भएका तीन थान ब्याट्री र प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी नरेश लिम्बुले जानकारी दिएका छन्।




