काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखानस्थित नवनिर्मित ऐतिहासिक श्री विन्ध्यवासिनी मन्दिरको उद्घाटन तथा शिवलिङ्ग र गणेशमूर्तिको प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ।
मंसिर ३ गते बिहीबार आयोजित विशेष समारोहमा पूर्वसांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाल र बागमती प्रदेशसभा सदस्य विमला ठकुरीले संयुक्त रूपमा मन्दिरको उद्घाटन गरेका हुन्।
गोकर्णेश्वर नगरपालिका र बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा स्थानीय भक्तजनहरूको आर्थिक योगदानमा मन्दिर निर्माण सम्पन्न भएको हो।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विन्ध्यवासिनी मन्दिरको पुनर्निर्माण तथा व्यवस्थापनले स्थानीय क्षेत्रको धार्मिक पहिचान संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
माता जलदेवी धर्म गुठी परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय भक्तजन, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वसहित सयौँ स्थानीयको सहभागिता रहेको थियो।
नवनिर्मित मन्दिरले स्थानीय समुदायमा धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सांस्कृतिक सम्पदाको संरक्षणमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।










