प्रधानमन्त्री बालेन्द्र साहले भारत भ्रमणको क्रममा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर भ्रमणको कार्यतालिकाबारे जानकारी गराएका हुन् ।
भेटपछि साह र मोदीले संयुक्त पत्रकार सम्मेलन समेत गर्ने बताइएको छ । त्यसपश्चात साह नेतृत्वको टोली मोदीले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछ । सचिव राईका अनुसार साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यतालिका बनेको छ । त्यस्तै, स्वदेश फर्किनुअघि प्रधानमन्त्री साहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
आगामी आइतबार दिउँसो १ः४५ बजे दिल्ली प्रस्थान गर्न लागेको प्रधानमन्त्री नेतृत्वको ३४ सदस्यीय टोली सोमबार साँझ स्वदेश फर्किनेछ । त्यसबाहेक भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायीको टोली पनि सहभागी हुने सचिव राईले जानकारी दिए ।




