एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाख प्रयोगकर्ताले गरे खरिद प्रयास

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानले शुक्रबार जारी गरेको सूचनामा टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरेको उल्लेख गरेको छ । त्रिवि क्रिकेट मैदानको सीमित क्षमताका कारण मागअनुसार टिकट उपलब्ध गराउन नसकिएको र बिक्री सुरु भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ ।

शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुला हुने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरूले असन्तुष्टि व्यक्त गरेका थिए । केही प्रयोगकर्ताले निर्धारित समयअघि नै टिकट सकिएको देखिएको भन्दै खरिद गर्न नपाएको गुनासो गरेका थिए । टिकट नपाएका केही दर्शकले त्रिवि क्रिकेट मैदानको गेटबाहिर पुगेर विरोधसमेत गरेका थिए ।

यस विषयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत निरज शर्माले एकैपटक करिब दुई लाख प्रयोगकर्ताले टिकट खरिद गर्न खोज्दा प्रणालीमा अत्यधिक चाप परेको बताएका छन् । उनका अनुसार टिकट बिक्री दिउँसो १ बजे सुरु भएर १ बजेर २४ मिनेटमा सकिएको थियो । एक जना प्रयोगकर्ताले औसतमा तीनवटा टिकट खरिद गरेको प्रणालीमा देखिएको उनले बताएका छन् ।

उनले निर्धारित समयभन्दा अगाडि अर्थात् १२ः५७ बजे ‘सोल्ड आउट’ देखिनु प्राविधिक प्रक्रियाका कारण भएको स्पष्ट पारेका छन् । क्यानबाट टिकटिङ प्रणालीमा विवरण लोड गर्ने र बिक्री खुलाउनुअघि प्रणाली पुनः सञ्चालन गर्ने क्रममा केही सेकेन्डका लागि ‘सोल्ड आउट’ देखिएको उनको भनाइ छ ।

यता, क्यानले टिकट खरिद गर्न नसकेका दर्शकलाई अनलाइन तथा आधिकारिक प्रसारण माध्यमबाट एनपीएल हेरेर सहयोग गर्न आग्रह गरेको छ । टिकट बिक्रीका क्रममा दर्शकलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै क्यानले नेपाली क्रिकेट र एनपीएलप्रति देखाएको साथ तथा उत्साहका लागि धन्यवाद दिएको छ ।

एनपीएलको तेस्रो संस्करणको फाइनल खेल शनिबार मंसिर ५ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी