काठमाडौं । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोली भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
शुक्रबार राति कतारको दोहामा सम्पन्न खेलमा भारत एले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११औँ ओभरमै मात्र २६ रन बनाउँदै अलआउट भयो । नेपाली टोलीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाए ।
नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतका प्रिन्स यादवले ५ विकेट लिए भने हर्षित रानाले ४ र शाहबाज अहमदले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत एले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रन बनाएको थियो । भारतका कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय पारी खेले । कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । त्यस्तै, सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन जोड्दा ओपनर वैभव सूर्यवंशीले २६ रन बनाए ।
भारतको ४२ रनमा ३ विकेट गुमिसकेको अवस्थामा कुशाग्र र तिलकले चौथो विकेटका लागि २०६ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए भने नन्दन यादवले २ र पवन सर्राफले १ विकेट लिए ।
प्रतियोगिताको पहिलो खेलमै निराशाजनक हार बेहोरेको नेपालले अब दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ ।




