काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्ने प्रयास भए त्यसविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
भक्तपुरमा नेपाली कम्युनिस्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध जिहाद छेड्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।
उनले शान्ति सम्झौता युगान्तकारी र दूरगामी महत्त्वको उपलब्धि भएको उल्लेख गर्दै हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग र लाखौँ जनताको त्याग र तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने प्रयास भइरहेको दाबी गरे।
यस्ता गतिविधिले देशलाई पुनः अर्को दुर्घटनातर्फ धकेल्ने षड्यन्त्रको सङ्केत देखिएको उनको भनाइ थियो।
प्रचण्डले शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्नेमा जोड दिए। साथै देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रामा अघि बढाउन सबैले सङ्कल्प गर्नुपर्ने बताए।
उनले राष्ट्रिय जागरण अभियानलाई संविधान, शान्ति सम्झौता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आवश्यक परे पुनः आन्दोलनमा उत्रिने तयारीका रूपमा समेत व्याख्या गरेका छन्।




