काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली जाँदै हुनुहुन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्री बनेपछि शाहको पहिलो विदेश राजकीय भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्नुहुनेछ। उहाँसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार गरी ३४ सदस्यीय सरकारी भ्रमण टोली रहनेछ। यसबाहेक निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्।
भारतीय समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रधानमन्त्री शाहलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि होटल ताजमहल पुग्नुहुने उहाँले साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्नुहुनेछ।
भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ। बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि हैदरावाद हाउसमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ। त्यसक्रममा शाह र मोदीबीच छुट्टै एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
मोदीसँगको भेटवार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने बताइएको छ। साथै दुई देशबीच ऊर्जा तथा सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको संयुक्त उद्घाटन, नयाँ परियोजनाको शिलान्यास र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
भोलि नै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नुहुनेछ। राष्ट्रपति निवासमा हुने भेटपछि उहाँ अपराह्न ४ बजेर ५० मिनेटमा नेपाल फर्कने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राष्ट्रहित र दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेको जनाएको छ। भ्रमणका क्रममा हुने उच्चस्तरीय छलफल तथा सम्झौताले व्यापार, ऊर्जा, पूर्वाधार र अन्य प्राथमिकताका क्षेत्रमा नेपाल–भारत सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।




